Poem: Two Things I Like The Most


पोखरा र ऊ

मलाई बर्खाको पानीमा रुझ्न मनपर्छ
उसलाई शिशिरको न्यानो घाम ताप्न
मलाई दुईचारजना जम्मा पारेर मस्त गफ हाँक्न मनपर्छ
उसलाई  घण्टौसम्म किताबमा डुबी एकान्तमा बस्न।

उसलाई आलु पनि उसिनेको मनपर्छ
अनि परवलको तरकारी भने पछि हुरुक्कै
छक्क पर्थेँ अनि सोध्थेँ, "परवलको तरकारी?"
अनि ऊ मुसुक्क हाँस्दै ,"अँ, परवलको तरकारी!" भन्थ्यो
उसलाई अचार मन पर्दैन रे तर चट्नी मनपर्छ
अनि म फेरि अर्को पटक छक्क परेँ।

उसलाई चिकेन  फ्राइड सी म:म: मनपर्छ भन्दा
बल्ल मलाई अलिक राहत मिल्यो
अनि मैले ," धन्न प्रभु!" भनेँ
त्यही म:म: मात्र थियो हामी दुबैलाई मन पर्ने
जुन डोरी बन्यो हामी दुइलाई मायामा बाँध्ने
सोच्दा पनि हाँस उठ्छ
तर खै यस्तै भयो।

मसँग बोल्दा खित्का छोडेर हाँस्छ
यस्तो लाग्छ वर्षौंसम्म अड्किएको मुस्कान फुस्कियो
मेरो पागलपनमा हाँस्छ मेरो नादानपनमा हाँस्छ
अनि भन्छ दुनिया यसरी चल्दैन कान्छी
अनि म केही नबोली मनमनै सोच्छु
"तिमी हाँस्न त हाँस्यौ नि कमसेकम"।

अजीब अजीब नाम राखिदिन्छ मेरो
खै रिसाउनु की खुसी हुनु
लेख्न हुन्थ्यो तर लाजै मर्दो छन् सबै
कहिले काहीँ त दुईटा पागलहरु भेट भएकोजस्तो लाग्छ
तर दुबैजना एकदम अलग
दुइटैको पागलपन पनि बेग्ला बेग्लै
तर फेरि दुबै उस्तै
अर्धपागल।

उसलाई रातिको २ बजे उठेर 
अण्डा चाउचाउ खानु पर्छ
त्यो पनि चम्चाले हुन्न काँटै चाहिन्छ
अनि हरेक पटक उसको काँटा हराउँछ
मेरो टकटाइमको आधा घण्टा त 
उसको काँटा खोज्दै सकिन्छ
अनि फेरि दुनियाभरिको कुरा याद हुन्छ उसलाई
तर टकटाइमको पिनकोड, अहँ!
हरेक पटक मैले भनिदिनु पर्छ।

भर्खरै फ्रेन्च भाषा सिकेछ
त्यही भाषामा नानाथरी बडबड गर्छ
न केही बुझ्नु मैले
त्यही पनि सुन्दिरहन्छु
अनि फेरि आफै अङ्ग्रेजीमा उल्था गर्छ
किन भन्दा मलाई फ्रेन्च सिकाको रे।

ऊ पोखराको हो
पोखराभन्दा तर ऊ नै राम्रो छ
उसलाई काठमाण्डूभन्दा बढी पोखरा मनपर्छ रे
अनि पोखराभन्दा बढी म
मलाई पनि पोखरा असाध्यै मनपर्छ
अनि आफूभन्दा बढी ऊ।

-Martina Dhana Gautam

Comments

  1. Totally stunned! You nailed this one. You have a beautiful story, if this is a real one.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Poem: A Letter To The Love Of My Life

Poem: Late night thoughts